You are here
Home > विशेष > एमाले र माओवादी एकतामा धेरै पर गइसक्यौं, अब पछाडि फर्कने ठाउँ देख्दिनँ  तर राजनीतिमा असम्भव भन्ने कुराचाहिँ केही हुँदैन -अध्यक्ष प्रचण्ड

एमाले र माओवादी एकतामा धेरै पर गइसक्यौं, अब पछाडि फर्कने ठाउँ देख्दिनँ  तर राजनीतिमा असम्भव भन्ने कुराचाहिँ केही हुँदैन -अध्यक्ष प्रचण्ड

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता अन्तिम चरणमा पुगेका बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बढी उत्साहित देखिन्थे । विगतका तीतामीठा अनुभवले पार्टी एकताको वातावरण बनाएको उल्लेख गर्दै उनले सम्मानजनक बराबरी सिद्धान्तका आधारमा एकता हुन लागेको खुलासा गरे ।

नेताहरूको क्षमताका आधारमा जिम्मेवारी बाँडफाँट गर्दै आफू र प्रधानमन्त्री ओली सहअध्यक्ष भएर पार्टी चलाउने उनको भनाइ थियो । प्रचण्डनिवास ललितपुरस्थित खुमलटारमा शुक्रबार कान्तिपुरका गंगा बीसीसँग पार्टी एकताबारे भएको कुराकानीलार्इ हामीले समय सान्दर्भिक ठानेर हामीले साभार गरेका छाैँ :

कम्युनिस्ट पार्टीबीच एकता गर्नुपर्छ भन्ने सोच कहिले आयो ?
नेकपा एमाले र माओवादीबीच एकता हुनुपर्छ भन्ने सोच शान्ति सम्झौतापछिकै हो । १२ बुँदे समझदारी भएर देश शान्ति प्रक्रियामा गइसकेपछि मैले तत्कालीन माओवादीको केन्द्रीय समितिमा अब एउटै कम्युनिस्ट केन्द्र बनाउनुपर्छ भन्ने प्रस्ताव पास गराएको थिएँ । माओवादी पार्टी विभाजन नहुँदै काभ्रेको फूलबारीमा सम्पन्न बैठकले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको थियो । एमालेले पनि त्यसबेला पार्टी एकताका लागि प्रस्ताव गरेको थियो । हामीबीच ४/५ पटक छलफल भयो, दस्तावेज आदानप्रदान पनि भयो । तर ठोस रूपमा अघि बढ्न सकेन । संविधानसभाबाट संविधान घोषणा भएपछि पनि पार्टी एकतामा जानुपर्छ भनी पटकपटक छलफल भए ।

खासगरी केपी ओलीसँग मेरो कुरा हुँदा संविधान कार्यान्वयन गर्ने, सरकार गठन गर्ने तत्कालीन आवश्यकताबाहेक पार्टी एकताबारे सोच्नुपर्छ भनी कुराकानी भयो । तर निष्कर्षमा पुग्ने गरी अघि बढ्न सकेन । बरु नौ महिनापछि सरकारको गठबन्धन पनि टुट्यो । त्यसपछि प्रदेश र संघको निर्वाचनअघि र स्थानीय तह निर्वाचन सकिएलगत्तै फेरि एकचोटि देशको समग्र परिस्थिति, निर्वाचनको आवश्यकता र संविधान कार्यान्वयन गरी स्थायित्व र समृद्धितिर लैजान कम्युनिस्ट एकीकृत गर्नुपर्छ भनी सोचियो । यही पृष्ठभूमिमा मैले नै पार्टी गठबन्धन र तालमेल मात्र होइन, पार्टी एकता नै गर्नु उचित हुन्छ भनेर बढी जोड गरेँ । मैले केपीजीसँग चुनावी तालमेल पार्टी एकताको उद्देश्यसाथ गरियो भने सबै काम एकैसाथ हुन्छ, यो ऐतिहासिक हुन्छ भनेँ । उहाँले पनि त्यसलाई सहज रूपमा स्वीकार गर्नुभयो ।

त्यसपछि पार्टी एकता संयोजन समिति बनाउन असोज १७ गते ६ बुँदे सहमति भयो । त्यसपछि साझा घोषणापत्र र साझा योजना बनाएर गयौं । त्यसले पार्टी एकताको निम्ति जगैदेखि जनता, कार्यकर्तालाई यसरी अन्तरघुलन गर्‍यो कि अरू सामान्य अवस्थामा वर्षौं लगाएर हुन नसक्ने काम २/३ महिनामा भयो । एउटै पार्टीजस्तो हुन पुग्यो । पार्टी एक गराउने प्रस्ताव जनताद्वारा अनुमोदित भयो । हामीले एकता संयोजन समितिको बैठक बसी अन्तरिम प्रतिवेदन र विधान बनाउने बेला भयो भनेर कार्यदल बनायौं । कार्यदलले प्रतिवेदन अन्तिम चरणमा पुर्‍याएको छ । त्यसपछि पार्टी एकता टुंगोमा पुग्छ ।

तपाईं बेलाबेला अरूले नपत्याउने निर्णय गर्न सक्नुहुन्छ । त्यो कुरा मनमा कसरी आउँछ ?
देशको वस्तुगत परिस्थितिले नेताको दिमागमा विचार बन्छ । परिस्थितिअनुसार नयाँनयाँ विचार बन्छन् । नयाँनयाँ सोच आउने गर्छन् । यस पटक एमाले र हामीबीच विचारमा एकरूपता हुने देखियो । जस्तो : शान्तिपूर्ण प्रतिस्पर्धामा एक भएर जानेमा माओवादी र एमालेमा एकरूपता देखियो । रणनीतिक हिसाबले जाने भनेको समाजवादतर्फ हो । अब पुँजीवादी क्रान्तिको बाटो मूलभूत रूपमा पूरा भएको छ, अबको बाटो नयाँ जनवादी क्रान्तिको बाटो होइन ।

अब हामी समाजवादतर्फ जानुपर्छ भन्ने कुराले मिलेर जानु प्रेरित गर्‍यो । तत्काल शान्तिपूर्ण बाटोमा अघि बढी राज्यबाट स्थायित्व र समृद्धितिर देशलाई लैजानुपर्छ भन्ने कार्यनीति पनि एउटै भयो र रणनीति एउटै । माक्र्सवादलाई निर्देशक सिद्धान्त मान्ने कुरा पनि एउटै भएपछि देश र जनताको चाहना पनि मिलेर जाऊन् भन्ने देखियो । जनतासँग अन्तक्र्रिया गर्दा कम्युनिस्ट एउटै भइदिए हुन्थ्यो भन्ने कुरा बुझियो । २०४६ सालमा पञ्चायतविरोधी आन्दोलनमा जनताबाट एकचोटि जबरजस्त एकता हुनुपर्‍यो भन्ने आवाज आयो । त्यसबेला एकता केन्द्र, एमाले बन्यो । जनता र कार्यकर्ताको एउटै कम्युनिस्ट केन्द्र बन्नुपर्‍यो भन्ने आवाज आयो । नेतृत्वले पनि एउटै केन्द्र बनाउने निर्णय गर्‍यो । मेरो पहिलैदेखि ध्यान कहाँ हो भने चुनावअघि भएको हुनाले एकताको कुरा कामयाबी हुन्छ भन्ने लाग्यो । एक्लै चुनाव उठेर एउटै पार्टीको बहुमत आउने अवस्था छैन, बहुमत ल्याउने हो भने मिलेर उठ्नुपर्छ भन्ने स्वत: बुझिने कुरा थियो । चुनावको मुखैमा एकताको घोषणा गर्ने रणनीतिले उपयुक्त अवसर पायो ।

चुनावले एकताका लागि मल र सिंचाइको काम गर्‍यो । पहिले पार्टी एकताको कुरा गरे पनि भनेजस्तो परिस्थिति बनेको थिएन, अहिले बन्यो । एमाले र माओवादी दुवै ठूलो बनेर पनि हेरियो । ठूलो हुँदा मनोविज्ञान के हुने रहेछ भन्ने पनि थाहा भयो । सानो भएर पनि हेरियो । एमाले पहिलो संविधानसभामा तेस्रो भयो, सानो पार्टी भन्ने भयो । उसले सानोको अनुभव पनि गर्‍यो । अहिले ठूलो भयो, ठूलोको अनुभव पनि गर्‍यो । माओवादी पनि पहिलो संविधानसभा निर्वाचनमा देशकै ठूलो पार्टी भयो, दोस्रो संविधानसभा तेस्रो भयो । सानो र ठूलो पार्टी हुँदाको अनुभव पनि भयो । विभाजनको अनुभव एमाले र माओवादी दुवैले गरे । यी सबै अनुभवबाट गुज्रियौं हामी । एउटा परिपक्व पार्टी बन्नका लागि आवश्यक पर्ने दु:ख, कष्ट, हन्डर भोगेको हुनाले पनि अब एक भएर जानुपर्छ भन्ने धरातल बन्यो ।

जनताको मनोभावना र भावना के छ भन्ने बुझेर अघि बढ्नुपर्छ । इतिहासको आवश्यकता के हो ? राष्ट्रको आवश्यकता के हो ? राम्रोसँग विश्लेषण गर्दा सजिलै पत्ता लाग्ने कुरा हो । यी दुई कुरा बुझेपछि काम कार्यान्वयन हुन्छ ।

चुनावको मुखमा तालमेल र पार्टी एकताको सरप्राइज दिनुभयो । गोप्य रूपमा धेरै छलफल भएको थियो होला नि ?
एकताको पृष्ठभूमि लामै छ । पार्टी एकताका लागि पटकपटक छलफल भएको हो । एकता निष्कर्षमा नपुगे पनि फेरि निरन्तर गर्नुपर्छ भन्ने हो । यसबीचमा उतारचढाव नभएका होइनन् । एकले अर्काको महत्त्वबोध गर्न पनि समय लाग्यो । एकता प्रक्रिया भन्ने कुरा समयभन्दा अघि भयो भने त्यसमा धेरै खालका चलखेल हुने गर्छन् । यो कुरा हामीले राम्रोसँग अनुभूत गरेका छौं । यस पटक हामीले सकेसम्म एकतालाई होहल्लाको विषय बनाउनुभन्दा निर्णायक बनाएर ठोस रूपमा अघि बढ्यौं भने उचित हुन्छ भन्ने नेतृत्वलाई लाग्यो । बढी चर्चा र बहस गर्‍यो भने एकता हुँदैन ।

विभिन्न शक्तिका चलखेल, पार्टीभित्र र बाहिरका प्रवृत्तिहरूले धेरै चलखेल गर्छन् र नेतृत्वलाई गाह्रो पर्छ । त्यसकारण ड्याम्मै सही छाप गरौं अनि अघि जाऔं भन्ने कुरा भएको हो । वाम गठबन्धन गरी चुनावी घोषणापत्र एउटै, उम्मेदवार साझा बनाएर पार्टी एकतासम्म अघि बढ्ने अठोटसाथ हामीले असोज १७ गते घोषणा गर्‍याैं । बाहिर हेर्दा अलि सरप्राइजजस्तो देखिएको हो, हामी काम गर्नेलाई भने त्यस्तो होइन । केही समयदेखि लगातार छलफल भइरहेको थियो, गोप्य बैठकहरू चलिरहेका थिए ।

विगतमा जस्तो सानो सैद्धान्तिक विषयमा लामो छलफल गर्ने परम्परालाई तपाईंहरूले कसरी समाधान गर्नुभयो ?
मतभेद पक्कै थिए, अहिले पनि बहस छन् । एकता भएपछि पनि बहस चलिरहेका हुन्छन् । वस्तुगत र आत्मगत हिसाब दुवैले आधार तयार हुनुपर्छ एकताका लागि । २०१९ सालपछि कम्युनिस्ट पार्टी विभाजन भयो । त्यो विभाजन हुनुमा देशभित्रका विभिन्न प्रवृत्ति थिए । अन्तर्राष्ट्रिय परिस्थिति रुस र चीनको महाविवाद चल्यो, त्यसको असर पनि पर्‍यो । विभाजनपछि रुसी धारा नेपालमा कमजोर रह्यो । माओत्से तुङ विचारधारा मान्नेहरूको प्रभाव बलियो भयो । माओत्से तुङ विचारधारा मान्नेहरूमा पनि दुई धार देखापर्‍यो । एउटा झापा विद्रोहको धार देखापर्‍यो । दायाँ–बायाँ सोचेर हुँदैन, दुश्मनलाई सफाया गर्नुपर्छ, सशस्त्र क्रान्ति सुरु गरिहाल्नुपर्छ भन्ने धारा देखापर्‍यो । यो माले हुँदै एमाले बन्यो । अर्को केन्द्रीय न्युक्लियसको रूपमा मसाल, एकता केन्द्र हुँदै माओवादी बन्यो । यी दुई धारा मुख्य हुन् । अरू यसको वरिपरि घुमेका छन् । यी दुई धारामा एउटा अलि उग्र र अर्को सुधारतिर देखिए । यी आपसमा संघर्ष गर्दै आफैं रूपान्तरण भए । पहिले उग्र भएको माले बिस्तारै रूपान्तरण भएर सुधारवादीजस्तो देखिन पुग्यो ।

संसदीय संघर्षलाई प्राथमिकता दिनेजस्तो देखियो । पहिले सुधारवादी देखिएको चौथो महाधिवेशन बिस्तारै सशस्त्र क्रान्ति गर्ने, अलि उग्र ढंगले जानेजस्तो देखियो । यी एकले अर्कोलाई गाली गर्दागर्दै एकअर्कामा रूपान्तरण भए । यसमा विचित्रको द्वन्द्ववाद छ । यो पृष्ठभूमि बुझेपछि यो एकता बुझिन्छ । १० वर्षे युद्ध, जनआन्दोलन, विभिन्न पटकका वार्ता हुँदै १२ बुँदे समझदारी र त्यसपछिका घटनाक्रमहरू संविधान निर्माणको पृष्ठभूमि नबुझी एकताको कुरा बुझ्न सकिँदैन । अचानक प्रचण्ड र केपी ओलीले भन्दैमा एकता भइहाल्यो भन्न हुँदैन । २०१९ सालदेखि विभिन्न विभाजनको पीडा भोग्दै आएको, विभिन्न खाले घुम्ती पार गरेर जनतालाई सहभागी गराएर अहिलेको स्थिति बनेको हो ।

दुई हेविवेट नेता प्रचण्ड र ओली अलगअलग बस्दा पनि सत्ता प्राप्त गर्न सकिन्थ्यो, । तर तपाईंहरू किन जुट्नुभयो ?
अहिले दुई पार्टीका दुई अध्यक्षले सकारात्मक, नकारात्मक लामो अनुभवको केन्द्रीकरण हो भनेर बुझ्नुपर्छ । यी दुई व्यक्ति मात्र होइनन्, आन्दोलन, इतिहास र जनताले निर्माण गरेका संस्थाजस्ता हुन् । यदि त्यो अथोरिटी हुँदैनथ्यो भने दुइटा नेताले सही गरेर लाखौं मान्छे एकतामा लाग्दैनथे । त्यो अथोरिटी भएको हुनाले नै यो सम्भव भएको हो । नेतृत्वले आफ्नो पद, प्रतिष्ठा, पार्टी समूहको स्वार्थ मात्रै हेर्‍यो भने त्यो नेता होइन । नेताले मुख्यत: राष्ट्र र जनतको हित हेर्ने, मानव जातिको हित हेर्ने भयो भने त्यो नेताको रूपमा रहन्छ । उसलाई सबैले पत्याउने र इतिहास निर्माण गर्ने कहलिन्छ । आफ्नो व्यक्तिगत स्वार्थ हेर्न नेता हुनु पर्दैन, जसले पनि हेर्न सक्छ ।

अहिले नेपालमा संयोग के हुन आइपुग्यो भने माओवादी र एमाले नेताहरू अलि बढी राष्ट्र र जनताको हित हेरौं भन्ने अवस्थमा पुगे । हामी अध्यक्ष पनि भइसक्या छौं । प्रधामन्त्री पनि भइसक्या छ । त्योभन्दा माथि जाने ठाउँ छैन । अब हामीलाई केही चाहिएको छैन । राष्ट्रलाई एकताबद्ध, समृद्ध गरी समाजवादको यात्रा तय गर्न योगदान गरियो भने नेताको औचित्य पुष्टि हुन्छ । यो नगरे हामी पनि सरदर अरू नेताजस्तै हुने खतरा छ ।

अझै पनि पार्टी एकता गर्नेमा केही आशंका छ । एकता भइहाल्यो भने पनि लामो टिक्दैन भन्छन् नि ?
कुनै पार्टी विवादरहित, समस्यारहित हुँदैन । पार्टीभित्र समस्या हुन्छन्, समस्याको अभिव्यक्तिजस्तो हो पार्टी । अर्को विचार नै पार्टी हो । पार्टी रहेसम्म समस्या पनि रहिरहन्छन् । समाजमा भएका समस्या समाधान गर्न मानिसहरूले पार्टी बनाउँछन् । दर्शनशास्त्रीले जब समाज समाजवादमा जान्छ, पार्टीको आवश्यकता सकिन्छ भनेका छन् । एकता केन्द्र बनाउन भनेर म आफैं कस्सिएको हो । संयोगले म मशालको महासचिव हुन पुगेँ । २०४६ साललगत्तै मैले पार्टी एकता गर्नुपर्छ भनेर निर्मल लामा, रूपलाल विश्वकर्मा, मोहनविक्रमलाई चिठी लेखेँ । यति शक्ति तुरुन्तै एक हुनुपर्‍यो भनें । त्यतिबेला एकले अर्कोलाई दक्षिणपन्थी भनिन्थ्यो, उग्रपन्थी, मध्यपन्थी, दलाल, सीआईडी भनिन्थ्यो । यस्ता आरोप–प्रत्यारोपबीच एकता कसरी होला भन्थे साथीहरू । त्यसबेला पनि पार्टी एकता भयो । त्यो एकताले देशमा नयाँ चीजको विकास गर्‍यो ।

अहिले पनि एमाले र माओवादी एकतामा धेरै पर गइसक्यौं, अब पछाडि फर्कने ठाउँ देख्दिनँ । तर फेरि कुनै दुर्घटना नै हुँदैन भन्न सकिँंदैन । राजनीतिमा असम्भव भन्ने कुराचाहिँ केही हुँदैन । कहिले ठूला कुरा मिल्ने, साना कुरामा हात्ती छिर्‍यो पुच्छर अड्कियो भनेजस्तो पनि हुन सक्छ । त्यो अलग कुरा हो । शंकै गर्नुपर्दैन, पार्टी एकता हुन्छ । एकीकृत पार्टी समस्यारहित हुँदैन । विवादरहित हुँदैन । अहिले पनि एमाले र माओवादीभित्र कम समस्या छैनन् । कांग्रेसभित्र पनि कम समस्या छैनन् । कुनचाहिँ पार्टी छ र समस्यारहित ? भोलि एकीकृत हुने पार्टीमा पनि अलिअलि समस्या हुन्छन् । मैले भनेको छु नि ।

शान्तिपूर्ण र बहुदलीय प्रतिस्पर्धाबाट हामी जाने बाटोमा एकता छ । कता जाने ? स्थायीत्व र समृद्धिको बाटोबाट समाजवादतर्फ जाने नै हो । यो भावी रणनीतिमा पनि विवाद छैन । एकता हुन चाहिने मुख्य तत्त्व बनिसक्यो । अब एकता त भयो, भयो । विभिन्न प्रवृत्ति, पात्र स्वभावका कारण अलिअलि समस्या भइहाल्छ । नेतृत्वको आँटले गर्दा ठूलो शक्ति सञ्चय पनि हुन्छ, देश विकासका लागि तागत पैदा गर्छ ।

मार्क्सवाद कहिले दायाँ, कहिले बायाँ जान्छ भन्नुभएको थियो, पार्टी एकता पनि यस्तै हो ?
मैले जहिले पनि भन्दै आएको छु, प्रकृतिमा पनि मान्छेको सोच्ने तरिकामा केही मूलभूत नियम छन् । कुनै पनि चीज सरल रेखामा अघि बढ्दैन । त्यो तलमाथि, दायाँ–बायाँ, अघिपछि उतारचढाव हुँदै अघि जान्छ । ठूल्ठूला घटना, गुणात्मक फड्को, छलाङ, कहिले विपत्तिहरू पैदा गर्दै स्थिति अघि बढ्छ । प्रकृतिमा जस्तै सोचाइमा पनि फेरबदल आउँछ । सोचाइमा पनि आवश्यकताअनुसार फेरबदल हुन्छ । पार्टी भनेको पनि कुनै जड वस्तु होइन । यो जीवित वस्तुजस्तै हो । यो बग्ने खोलाजस्तै हो । अघि बढ्दा भंगला पनि बन्छन्, फेरि मिल्छन् । दायाँ–बायाँ भत्काउँदै बग्छ । अनि खोला महासागरमा पुग्छ भनेजस्तै पार्टी पनि नियमानुसार अघि बढ्छ । हामीले नेपालबाट नयाँ कुरा दिन सक्ने ठाउँमा छौं ।

नेपालीहरूले यतिबेला संकल्प गर्‍यो, मिहिनेत गर्‍यो र कुरा बुझ्न सकियो भने नयाँ कुरा दिन सक्छौं । मैले भन्दै आएको छु, गौतम बुद्धले २७ सय वर्षपहिले एउटा सन्देश दिनुभयो भने हामी नेपालीले भारत र चीनजस्तो विशाल देशहरूबीच हुनुको फाइदा लिन सक्नुपर्छ । हामीले विचारमा केही नयाँ चीज दिन सक्नुपर्‍यो । हामी आफैंले आफैंलाई सानो ठान्नु हुँदैन । हामीले इतिहासदेखि दुनियाँलाई नयाँ चीज दिंदै आएका छौं । हामीले २१ औं शताब्दीमा नयाँ विचार, रणनीति, दृष्टिकोण दिन सक्ने ठाउँमा छौं । यो पार्टी एकता दुई समूहको एकता मात्र होइन, यो नेपाललाई समृद्धि दिने उद्देश्यसाथ हुँदै छ । हामीले शान्ति सम्झौता गर्‍यौं, एउटा सफल शान्ति प्रक्रिया पूरा गर्‍यौं । हामीले संविधानसभाबाट समावेशी लोकतान्त्रिक संविधान जारी गरी नमुना स्थापित गरिसक्यौं । कसैले नेपाल सानो देश भनेर हेप्लान् । सानो देशले के ठूलो कुरा गरेको होला भन्लान् । तर भोलि गएर मन परे पनि नपरे पनि नेपाललाई अध्ययन गर्नैपर्छ ।

दुई शीर्ष नेताबीच कार्यविभाजन कसरी मिलाउनुहुन्छ ?
यो प्रश्न संवेदनशील छ । विगतका अनुभव हेर्दा यो झन् अप्ठ्यारो हुने हो कि भनी मान्छेहरू भन्छन् । एउटै म्यानमा दुई तरबार रहलान् त ? एउटै जंगलमा दुई शेर रहलान् त ? भन्ने उखान पनि छ । हामीले असम्भव देखिने कुरालाई सम्भव बनाउनुपर्छ र मानव जातिलाई योगदान दिन सकिन्छ भन्ने कुरामा स्पष्ट छौं । हामीले विधि र प्रक्रियाद्वारा नेताहरूको क्षमतालाई निकास दिएर जानुपर्छ । लक्ष्य ठूलो राखेपछि कार्यविभाजन मिलाउन सकिन्छ । अझ ठोस रूपमा भन्दा तत्काल महाधिवेशन गर्न सकिँदैन । अहिले एकता भेला या सम्मेलनबाट एकताको घोषणा हुन्छ ।

महाधिवेशनसम्मका लागि सहअध्यक्ष अथवा दुइटा अध्यक्ष रहने र दुवैको अथोरिटी समान हुनुपर्छ भनी सोचेका छौं । पार्टीको अध्यक्षता दुई अध्यक्षले पालोपालो गर्ने भन्ने छ । महत्त्वपूर्ण निर्णयहरू दुइटैको सहमतिमा, हस्ताक्षरमा कार्यान्वयन हुनेछन् । महाधिवेशनमा जाने बेलासम्म सबै कुरा मिलिसक्छ । त्यतिबेला एउटा विधि र प्रक्रियाबाट एउटै अध्यक्ष चुनिन्छ ।

प्रधानमन्त्री ओलीले सरकार र तपाईंले पार्टी चलाउने समझदारी भएको हो ?
यो विषय जनस्तरमा पनि, दुवैतिर पार्टीका साथीहरूमा पनि नभएको होइन । एउटा अध्यक्ष प्रधानमन्त्री र अर्को अध्यक्ष पार्टी सभापति हुनुपर्छ भन्ने पनि पार्टीभित्र कुरा उठेकै छ । तर दुवै अध्यक्षले छलफल गर्दा दुवै विशाल पार्टीलाई व्यवस्थापन गर्न अध्यक्षको रूपमा दुवैको भूमिका आवश्यक छ । एउटा अध्यक्ष हुँदा अर्को नहुँदा पार्टीलाई एकताबद्ध गर्न जटिल हुन सक्छ । अहिले दुवै अध्यक्षको दायित्व समान छ भन्ने निष्कर्षमा हामी पुग्यौं र सहअध्यक्ष प्रणालीमा जाने निर्णय भयो । विश्वमा यस्ता प्रणाली पनि छ ।

वामपन्थीको सरकार ५ वर्ष चल्ने निश्चित छ । यसबीचमा प्रधामन्त्री र मन्त्रीहरू फेरिन्छन् कि फेरिादैनन् ?
हामीले स्थायित्व दिन्छौ, समृद्धि र सुशासन दिन्छौं भनेर जनतालाई भनेका छौं । अब पार्टी एकता भइसकेपछि ५ वर्ष सरकार चल्छ । यस अवधिमा मन्त्री र प्रधानमन्त्री रहिरन्छन् भन्न सकिन्न । यो बीचमा पार्टीको महाधिवेशन हुन्छ । महाधिवेशन भइसकेपछि त्यहीअनुसार होला ।

तपाईं र ओलीजीबीच आलोपालो सरकार चलाउने समझदारी भएको होइन र ?
जे गर्दा राष्ट्र र पार्टीलाई हित हुन्छ, हामी त्यही गर्दै जान्छौं । सरकार आलोपालोको कुरा अहिले सोचेका छैनौं । योबीचमा पार्टीको महाधिवेशन हुन्छ । छलफल हुँदै जान्छ ।

पार्टी एक भइसकेपछि दुई शक्तिकेन्द्र प्रचण्ड र केपी हुने देखिन्छ नि ?
त्यस्तो हुँदैन । अहिले केपीजी र मबीच जे छलफल भइरहेको छ, एउटा विश्वास र उद्देश्यसाथ राष्ट्रलाई समृद्ध बनाइछाड्ने संकल्पसहित अघि बढेको हुनाले मान्छेले सोचेजस्तो दुई शक्तिकेन्द्र हुँदैन । हामी गुट अन्त्य गर्ने विधि बनाउँछौं । गुटबन्दीले गर्दा दु:ख पाइयो भन्ने दुवै नेतालाई महसुस भएको छ ।

पार्टी एकतामा बराबरी सिद्धान्त लागू हुन लागेको हो ?
एकथरी मान्छे पार्टी एक नहोस् भन्ने चाहन्छन् । वाम गठबन्धनलाई कमजोर पार्ने कसरत चुनावअघिदेखि नै हुँदै आएको छ । एकता हुन नदिने तत्त्व सक्रिय छन् । माओवादीले सम्पूर्ण रूपमा सरकार चलाओस् हामी समर्थन गर्छौ भन्नेहरू पनि छन् । कांग्रेसले दुई पार्टी नमिले हुन्थ्यो भनेर सोच्नु अनौठो होइन । देशभित्र र बाहिरका केही शक्तिलाई वामपन्थी मिलेको त्यति राम्रो लाग्दैन । एमाले र माओवादी नेतृत्व र आमपंक्ति दक्षिणपन्थीको चलखेलबाट सचेत भइसकेका छन् । एकता विरोधी शक्तिलाई भत्काइसकियो । दुइटा धाराबीच एकता हुँदाखेरि कहिले कुन पार्टी ठूलो भयो, कहिले कुन पार्टी ठूलो भयो, कहिले कुन विभाजन भयो । विभाजनको पीडा पनि हामीले भागेका छौं । विजयको खुसियाली पनि अनुभूत गरेका छौं । अब एकता गर्दा ठूलो सानोको आधारमा होइन, समानताका आधारमा, सम्मानजनक बराबरीको सिद्धान्तमा टेकेर एकता गर्नुपर्छ भन्ने कुरामा पनि हामी स्पष्ट छौं ।

सम्मानजनक र बराबरीको आधारमा एकता गर्नुपर्छ । चुनावका बेला संख्या हेरेर ६०, ४० प्रतिशत गरे पनि तालमेल गर्दाचाहिँ त्यो लागू हुँदैन । पहिलै यति प्रतिशत माओवादीलाई यति प्रतिशत एमालेलाई भन्यो भने त्यो एकता हुँदैन । धेरै प्रतिशतमा थोरै प्रतिशत मिसिन गएजस्तो हुन्छ । एउटामा अर्को मिसिने कुरा होइन, दुवै मिलेर नयाँ पार्टी बनाउन खोजेको हो । त्यसो भएर सम्मानजनक र बराबरी सिद्धान्तमा टेकेर यो एकता हुनुपर्छ भन्नेमा समझदारी छ, विमति छैन ।

सरकारको सुरुको कामलाई कसरी हेर्नुभएको छ ?
सरकारलाई साह्रै ठूलो जनमत प्राप्त छ । यो शक्तिशाली सरकार हो । विगतको जस्तो होइन । यो करिब दुई तिहाइ जनताद्वारा अनुमोदित सरकार हो । यो शक्तिशाली सरकार हो । जनतका अपेक्षा पनि ठूला छन् । त्यसलाई पूरा गर्न सकिएन भने चुनौती हुन्छ । विकास निर्माण र सुशासनमा दृढतासाथ काम गरोस् भन्ने जनअपेक्षा छ । सरकार अहिले त्यो दिशातिर जानुपर्छ भनेर प्रधानमन्त्री र मैले मन्त्रीहरूलाई दृढतासाथ जान निर्देशन दिएका छौ । गलत क्रियाकलाप र भ्रष्टाचारलाई सहन सकिँदैन । शान्ति र सुशासनको प्रत्याभूति दिनुपर्छ । विकास र समृद्धिको यात्रा सुरु भयो, मुलुक नयाँ युगमा जान लागेको भन्ने प्रत्याभूति हुनुपर्‍यो । यो सरकारले दृढतासाथ काम गर्छ भन्ने विश्वास छ ।

अहिले प्रधानमन्त्री ओली र तपाईंबीच बिचौलियाको सक्रियता कत्तिको छ ?
हामी उद्देश्यमूलक ढंगले अघि बढेमा त्यस्ता दलाल र बिचौलियाका चलखेल निस्तेज गर्दै जान सकिन्छ । गन्तव्यमा पुग्न चलखेललाई परास्त गर्न सकिन्छ ।

नेपालको आन्तरिक मामिलामा बाह्य हस्तक्षेपलाई कसरी हेर्नुभएको छ ?
नेपालीको ठूलो बलिदानपछि शान्ति सम्झौता हुँदै समावेशी लोकतन्त्रको नयाँ मोडल जनताको अघि राखेका छौं । विकास र समृद्धिमा जाने भनी करिब दुई तिहाइ जनताको समर्थन सरकारलाई प्राप्त छ । यस्तो बेलामा युरोपियन युनियनको निर्वाचन अनुगमन प्रतिवेदनमा जस्तो भनाइ आयो, त्यो दुर्भाग्यपूर्ण छ । यो नेपाली जनताको समावेशिता, त्याग, तपस्या र बलिदानको अपमान हो । ठूला शक्ति हुँ भन्ने राष्ट्रहरूको साना राष्ट्रहरूप्रतिको हेपाइको मनोविज्ञानको उपज पनि हो । कुनै पनि बहानामा यस्तो हस्तक्षेप स्वीकार गर्न सकिँदैन । युरोपियन युनियनको जस्तो वक्तव्य आएको छ, त्यसलाई सबै देशभक्त नेपालीले अपमान ठोनेका छन् । यसलाई स्वीकार गर्न सकिँदैन । यसको दृढतापूर्वक प्रतिवाद गर्नुपर्छ ।

चीन र भारतबीच सन्तुलित सम्बन्ध कसरी विकास गर्ने ?
विगतका सबै अनुभवहरूबाट दुवै छिमेकी मित्रसँग असल सम्बन्ध विकास गर्नेमा विमति छैन । सन्तुलित सम्बन्धले मात्र नेपाली जनताको समृद्धिको आकांक्षा पूरा गर्न सकिन्छ । म प्रधानमन्त्री भएका बेला १० महिना चीन र भारतलाई विश्वासमा लिन सकिँदो रहेछ भन्ने उदाहरण बनेको छ । वाम गठबन्धनको सरकार बनेपछि भारत र चीनसँग सन्तुलित सम्बन्ध बनाउन प्रयत्न गर्नुपर्छ । केपी ओलीजीले भारतसँग सम्बन्ध विस्तार गर्न अलि बढी मिहिनेत गर्नुभएको छ । मैले पनि सहजीकरण गरिरहेको छु । हामी कोहीपरस्त होइन, नेपालपरस्त हो ।

संघीयता कार्यान्वयन कतिको चुनौतीपूर्ण देख्नुहुन्छ ?
नेपालमा पहिलो पटक संघीयता कार्यान्वयन भएको छ ।स्थानीय सरकार, प्रदेश सरकार बनेका छन् । यो ठूलो कुरा हो । मुख्यमन्त्री भइसके, गभर्नर (प्रदेश प्रमुख) भइसके । अझै पनि केही मान्छे संघीयता असफल भइदियोस् भन्ने चाहना राख्छन् । सिंहदरबारको शक्ति तल पुगेको छ । जनता बलिया भए राष्ट्र बलियो हुन्छ । केही समय संरचना बनाउन गाह्रो छ । मुख्य कुरा प्रदेश मन्त्री र मुख्यमन्त्रीले दु:ख पाएर भए पनि जनतालाई सेवा दिनु पर्‍यो ।

राज्यका निकायहरूको रूपान्तरणबारे केही सोच्नुभएको छ ?
संविधानको मर्म र भावनाअनुसार राज्यका सबै निकाय परिवर्तन हुनुपर्छ । अदालत, कर्मचारीतन्त्र, सुरक्षा निकायलगायत राज्यका सबै अंग रूपान्तरण हुनुपर्छ । राणाका पालादेखि, राजामहाराजा र पञ्चायतकालका ऐन, नियम अहिले पनि छन् । एकथरी मान्छेको सोचाइ त्यस्तै छ । त्यसलाई बदल्नैपर्छ । हामी बदल्छौं, बदलिन नचाहनेलाई राज्यले बिदा गर्नुपर्छ ।

प्रतिकृया दिनुहोस

Top