You are here
Home > खेल > मार्सेलोको आत्मकथा: पहिले हामी आक्रमण गर्छौं

मार्सेलोको आत्मकथा: पहिले हामी आक्रमण गर्छौं

-हजुरबाको दराजमा अब एउटा मेडल थप्न मन छ’

सुरु कहाँबाट गरौँ त ? मेरो हजुरबाले मेरो जीवन कसरी परिवर्तन गरिदिनुभयो त्यो तपाइँलाई भन्दै छु । अनि रोनाल्डोको बारेमा भन्छु । हवाई जहाजबाट बाहिर झुण्डिएका रोमारियो र सुन्तला रंगको भोल्सवागनको बारेमा भन्छु ।

कुरा त धेरै विषयमा गर्नु छ, पहिले आउनुहोस् गन्धबाट कुरा सुरु गरौँ ।

यो मैले जीवनमा पहिलोपटक अनुभव गरेको कुरामध्ये एक हो । त्यतिबेला म ६ वर्षको हुँदो हुँ । हामी स्कूलको गर्मी बिदामा थियौँ । म बिहान साढे ७ बजे उठ्थें । फुटबल लिएर समुद्र किनारतिर जान्थें ।

त्यो रियोमा रहेको बोटाफिगो समुद्रि किनार हो । रियो, जहाँबाट धेरै राम्रा फुटबल खेलाडीको जन्म भयो ।

त्यहाँ बालबालिकाको खेल्ने ठाउँ थियो । छेउमा फुटसल खेल्ने ठाउँ । त्यसको नजिकै थियो पार्किङ स्थल । त्यही हुन्थे एक बुढा मान्छे । उनी पार्किङमा जाने मान्छेलाई यताउति भन्दै चिच्याइरहेका हुन्थे । उनी भन्थे, ‘एक डलर । एक डलर । ल एक डलर ।’

उनी एक डलर लिएर त्यहाँ पार्किङमा राखेका गाडी हेरविचार गरिदिन्थे । उनको स्वर मलाई अझै सम्झना छ । त्यो भन्दा धेरै सम्झना छ, त्यहाँ आउने माटोको गन्ध । त्यहाँ नालीको पाइप फुटेको थियो । त्यहाँ मैदानको एक छेउमा त्यहाँबाट बगेको पानी जमेर हिलो भएको हुन्थ्यो । यसैले हरेक बिहान त्यहाँ जाँदा म त्यो हिलोबाट आउने गन्ध सुँग्थें ।

त्यहाँको मैदान बोटाफिगो क्लबको सम्पत्ति थियो । त्यहाँ एकदम विचार गरेर खेल्नुपर्ने । उनीहरुकोमा बल गयो भने बल लगिदिन्थे । यसैले छेउछेउमै हेरेर खेलिरहन्थें ।

मलाई त्यो हिलोको गन्धको गहिरो सम्झना छ । अनि मेरो खुट्टामा भएको त्यो बलको अनुभूति पनि छ । मलाई त्यो समय लागेको केही कुरा अहिले सत्य साबित भएको छ । जब गोडामा बल हुन्छ । खेल्नका लागि अरु कोही चाहिँदैन । खेल्न चाहिने भनेको बल नै हो । अरु नभए पनि बल हुनुपर्छ ।

त्यहि बेला हो, ०९४ को विश्वकप अमेरिकामा चलिरहेको थियो । विश्वकपअघि ब्राजिलमा मानिसहरु भित्ता र भुइँमा खेलाडीको चित्र बनाइरहेका हुन्थे । चित्र बनाउँदा हरेक कुरा हरियो, पहेँलो र निलो रंगमा हुन्थ्यो । ब्राजिलका हरेक साना बच्चासँग यो अनुभव रहन्छ ।

त्यही अघिल्लो दिन मैले ब्राजिलियन रोनाल्डोको कथा पढिरहेको थिएँ । त्यहाँ उनले ०८२ को विश्वकपअघि सडकमा जिकोको अनुहार पेन्ट गरेको बारे बताएका थिए ।

जे होस्, अब अनुमान लगाउनुहोस् त । रोनाल्डो ?

रोनाल्डो यदि तपाइँले अहिले यो कुरा थाहा पाउनुभएको छ भने, म ६ वर्षको हुँदा साथीसँग मिलेर सडकमा तपाइँकै अनुहार पेन्ट गरेका थियौँ । तपाइँ हाम्रा लागि हिरो । त्यो सम्झना मेरो मनको भित्र गढेर रहेको छ ।

तपाइँको जीवनलाई फर्केर हेर्दा के सम्झिनु हुन्छ ? मलाई ब्राजिलले फाइनलमा जितेको त्यस्तो केही याद छैन । त्यो विश्वकपमा ब्राजिलले फाइनल जितेको बारे मेरो मनमा केही कुरा धमिलो धमिलो मात्र छ । तर, एउटा पत्रिकाको पहिलो पेजमा ब्राजिलियन खेलाडीको ठूलो तस्वीर छापेको भने मलाई याद छ ।

त्यसमा राष्ट्रिय टिम विमानमा उडेर घर फर्कंदै थिए । त्यसमा रोमारियो लगभग बाहिरै झुण्डेको जसरी ककपिट अघिको झ्याल नजिकै थिए । ब्राजिलको ठूलो झण्डा हल्लिरहेको थियो । जस्तो कि उनले हाम्रो लागि पूरै विश्व जितेर आएका छन् ।

त्यो फोटो हेरेपछि मेरो छाति गर्वले फुलेको थियो । मैले सोचेको थिएँ, वाह ! एकदिन मैले पनि यस्तै गर्नुपर्छ ।

वास्तवमै त्यो एकदमै ठूलो सपना हो । पहिलो त, ब्राजिलमा २० करोड मान्छे छन् । त्यहाँ सबैजसोलाई फुटबलर बन्न मन हुन्छ । बुढा मान्छेलाई पनि । दोस्रो, त्यस्तो सपना देख्दा म फुटबलर भैसकेको थिइनँ । लोकल फाइभ–ए–साइड फुटबलमा भने खेलेको थिएँ । क्लब फुटबलका लागि जानु भनेको हाम्रो परिवारका लागि सहज थिएन । अमेरिका र बेलायतमा बस्ने मान्छेहरुलाई यसमा विश्वास नलाग्ला तर, हाम्रोतिर वास्तविकता यस्तै छ । अझ म सानो भएको बेलामा त यो अवस्था ठूलो थियो । एकदमै महंगो पर्न जान्थ्यो ।

म भाग्यमानी हुँ, मेरो हजुरबाले मेरा लागि सबै कुरा खर्चन तयार हुनुभयो । मेरो जीवन कथाको एकमात्रै महत्वपूर्ण मान्छे हुनुहुन्छ मेरो हजुरबा ।

यदि तपाइँ मेरो हजुरबाको अनुहार बुझ्न चाहनुहुन्छ भने, उहाँको आफ्नो छुट्टै चरित्र थियो । उहाँ जहिले भिन्न पाराको कालो चस्मा लगाउनुहुन्थ्यो । उहाँको केही कुरा भन्ने शैली पनि भिन्दै थियो । साथीहरुसँग हुँदा फरक पाराले बोलिरहेको हुनुुहुन्थ्यो ।

यो कुरा म कसरी बुझाउँ र खै ! उहाँ भन्नुहुन्थ्यो …. ‘मलाई हेर मु…हरु, खल्तीमा सुको पैसा छैन, त्यही पनि म खुशी छु । रमाइरहेको छु ।’

उहाँ मलाई आफ्नो पुरानो गाडीमा फुटसल खेल्ने ठाउँसम्म लगिदिनुहुन्थ्यो । तर, म नौ वर्षको जति हुँदा साथीहरुसँगै खेल्नका लागि टाढा टाढासम्म पनि जानु पथ्र्यो । यसैले गाडीमा तेल हाल्न, खाने कुरा खान सबै गरेर धेरै पैसा खर्च हुन थाल्यो । त्यसपछि मेरो हजुरबाले जे निर्णय लिनुभयो, त्यसले मेरो जीवन परिवर्तन गरिदियो ।

उहाँले मलाई खाजाको लागि पैसा हुन्छ र गाडीमा जाने भाडा धेरै समयलाई पुग्छ भनेर आफ्नो गाडी नै बेचिदिनुभयो । उहाँले त्यो गरिबीले अप्ठ्यारो पर्‍याे भनेर बेच्नुभएको पनि होइन ।

उहाँ सबैलाई भन्नुहुन्थ्यो, हेर मेरो नाति केटो सबैभन्दा राम्रो फुटबलर हो । रियोमा उ जस्तो अरु छैन । ब्राजिलकै राम्रो खेलाडी छ यो । शानदार । जबरजस्त ।

उहाँको आँखाबाट हेर्दा मैले कहिल्यै गल्ती गरिनँ । म खेल्दा उहाँ सधैँ हेरेर बसिरहनु हुन्थ्यो । बेलुका घर आएपछि बुवालाई भन्नुहुन्थ्यो, ‘मार्सेलो यस्तो राम्रो खेल्छ । आज यसले के गर्‍याे तँलाई थाहा छ ? ओहो ! गजवै छ यो केटो । आइज न यसले खेलेको हेर्न ।’

तर मेरो बुवाले त्यसरी कहिल्यै हेर्न पाउनुभएन । उहाँको सधैँ काम हुन्थ्यो । वास्तवमा मेरो बुवाले हजुरबाको कुरामा उस्तो विश्वास गर्नु हुँदैन थियो । ‘यो हावा बुढा जे पनि भन्छन्’ जस्तो सोचेर उडादिनुहुन्थ्यो ।

मैले हारेकै खेलमा पनि हजुरबा केही छैन अर्को खेलमा तिमीहरु राम्ररी जित्छौ भन्नुहुन्थ्यो । तिमीले आउने खेलमा अझै राम्ररी बुझ्ने छौ भन्नुहुन्थ्यो । त्यो बेला उहाँ मलाई रोनाल्डोसँग तुलना गर्नुहुन्थ्यो । भगवान कसम, हरेक दिन घर पुग्दा म आफूलाई फुटबलर मानेर छाती चौडा पारेर जान्थे ।

अनि एकदिन म १२ वर्षको जति हुँदा हो । मेरो खेल सकिएपछि हजुरबा भोल्सवागन गाडी लिएर मलाई लिन आउनुभयो ।

उहाँले भन्नुभयो, भित्र आऊ । हामी यसमै घर जाने ।

मैले भनें, के हो यो ? कहाँबाट आयो गाडी ?

उहाँले भन्नुभयो, ‘जोगो दो बिचो’

रियोमा यो भनेको एउटा चिठ्ठा हो । कानूनी रुपमा सुरक्षित काम त होइन । तर, धेरैले चिठ्ठा खेल्थे । हजुरबाले त्यही चिठ्ठा जितेर उही पुरानो गाडी किनेर ल्याउनु भएछ । त्यो दिन हामी पागल जस्तै भएका थियौँ । गाडीमा लगभग शहरको सबैतिर घुम्यौँ ।

०००

म १५ वर्षको हुँदा ठूलो ११ जना नै खेल्ने फुटबलमा खेल्ने अवसर पाएँ । फ्ल्युमिनेन्स युथ टिमबाट खेल्ने मौका पाएको थिएँ । त्यसमा समस्या के थियो भने, अभ्यास गर्न मेरो घरबाट दुई घण्टा परको ठाउँमा जानुपर्ने भएको थियो ।

हरेक दिन त्यति टाढा जानेगरी गाडीमा तेल हाल्ने पैसा हामीसँग थिएन । यसैले मैले त्यतै कतै होस्टेलमा बस्ने सोचेँ । म एक्लै होस्टेलमा बस्ने भएँ । घरदेखि टाढा । परिवारदेखि टाढा । हरेक शनिबार हजुरबा गाडी लिएर आउनुहुन्थ्यो । आइतबार घरमै सबैसँग बस्थें र हजुरबा सोमबार मलाई अभ्यास गर्ने समयमा पुर्‍यादिनुहुन्थ्यो ।

उहाँले चिठ्ठा परेर किनेको कारमा त्यो बेला फरक फरक रेडियो स्टेशन ट्युन गर्दै घरदेखि टाढा जान्थ्यौँ हामी । मलाई चिठ्ठाकै पैसाले मात्र त्यो पुगेको छैन भन्ने थाहा थियो ।

एक दिन रियोदेखि अभ्यास गर्ने ठाउँ जाँदै थियौँ । म यसै गइरहेको छु, फुटबलको दास भएको छु जस्तो लाग्यो । घरतिरका मेरा सबै साथी समुद्री किनारमा गएर फुटबल खेल्दै रमाइरहेका थिए । म भनेँ नयाँ ठाउँमा गएर बेञ्चमा बसिरहेको थिएँ ।

मैले हजुरबालाई भनें, ‘अब मलाई भयो । पुग्यो यहाँ । मैले सब गरिसकेँ । म घरमै आउन चाहन्छु ।’

उहाँले भन्नुभयो, ‘अहँ हुँदै हुन्न । तिमी त्यस्तो नगर । यसैको लागि हो र हामीले यस्तो दुःख गरेको ?’

मैले भनें, ‘म यहाँ आएर पनि बेञ्चमा फसिरा’छु । मेरो खेल्ने समय खेर गइरा’छ । भयो मलाई ।’

त्यसपछि हजुरबा नराम्ररी रुन थाल्नुभयो ।

उहाँले भन्नुभयो, ‘मार्सेलो .. तिमी शान्त होऊ । तिमीले अहिले यो सबै छाड्न हुँदैन । तिमीले एकदिन माराकानामा खेलेका हेर्ने इच्छा छ ।’

उहाँको कुराले मेरो मन छोयो । मैले भनें, ‘हुन्छ हुन्छ । अर्को हप्तादेखि म राम्ररी खेल्छु ।’

त्यसपछि मैले हार मान्न छाडिदिएँ ।

०००

दुई वर्षपछि, मेरो हजुरबा दर्शक दिर्घामा बसिरहनुभएको थियो । माराकाना क्लबबाट म मैदान प्रवेश गर्दै थिएँ । यो दिन आउँछ, मैले खेल्नेछु भन्ने उहाँलाई पहिलो दिनदेखि थाहा थियो । त्यसकै प्रतिक्षा उहाँलाई थियो ।

जब म १८ वर्षको थिएँ । युरोपको केही क्लबबाट पनि कुराहरु आइरहेका थिए । सीएसकेए मस्को र सेभिल्लाले मलाई बोलाएको थियो । त्यो बेला, सेभिल्ला एकदम राम्रो थियो । अनि त्यहाँ ब्राजिलियनहरु पनि थिए । यसैले मलाई सेभिल्लामै सही हो जस्तो लाग्यो ।

त्यसपछि एक दिन मलाई एउटा एजेन्टको फोन आयो । उसले भन्यो, ‘तिमी रियल मड्रिड जान चाहन्छौ ?’

मैले भनें, ‘लौ ! साच्चै ? किन नजाने नि ? जाने ।’

त्यो फोन कसले गरेको हो मलाई थाहा थिएन । उसले भन्यो, ‘ल त्यसो भए लेखेर राख । तिमी रियल मड्रिड जान्छौ ।’

एकदिन हामी पोर्टो एलेग्रेमा खेलिरहेका थियौँ । त्यो बेला मलाई भेट्न रियल मड्रिडबाट कोही आएको थियो ।

म हामी बसेको होटलको तल गएँ । भेट्न आएको मान्छेले आफ्नो परिचय दियो । उ रियल मड्रिडको हो भन्ने मैले चिन्ने माध्यम केही थिएन । उसले रियल मड्रिडको लोगो भएको लुगा लगाएको थिएन । मलाई उसले आफ्नो कार्डहरु त्यस्तो केही पनि दिएन ।

अनि उसले मलाई यस्तो प्रश्नहरु सोध्न थाल्यो ।

‘तिम्रो गर्लफ्रेण्ड छ ?’

मैले भनें, ‘उम … छ ।’

उसले सोध्यो, ‘तिमी को सँगै बस्दै छौ ?’

मैले भनें, ‘हजुरआमा सँग ।’

उसले त्यस्तो परिचय मिल्ने केही देखाएको थिएन । के–के सोधिरहेको थियो । मलाई लाग्यो, यो मान्छे साच्चै त हो । प्लेनमा हालेर कतै साइबेरिया त लग्दैन ।

दुई दिनपछि मलाई फोन आयो । रियल मड्रिडले मेडिकल जाँच गर्नको लागि मलाई बोलाएको थियो ।

त्यसपछि पनि मैले सोचे, ‘के यो सब साचो हो त ? के हो के हो ।’

०००

तपाइँले मेरो बारेमा केही कुरा बुझ्न जरुरी छ । म १६ वर्षको हुने बेलासम्म मलाई च्याम्पियन्स लिगको बारेमा थाहा थिएन ।

त्यो बेलाको एउटा घटना मलाई याद छ । म त्यही घरबाट दुई घण्टा टाढा अभ्यास गर्ने ठाउँमा थिएँ । केही साथीहरु टिभीमा फुटबल हेरिरहेका थिए । त्यो पोर्टो र मोनाकोबिचको खेल थियो । कस्तो भिन्दै जस्तो लागिरहेको थियो ।

रातको समय, पूरै दर्शकले भरिएको स्टेडियम । मैदान पनि एकदमै हरियो । त्यो एकदमै राम्रो थियो । त्यो बेलासम्म ब्राजिलियन लिगमा रातको समयमा मैदान त्यस्तो राम्रो देखिँदैन थियो । त्यति हरियो पनि हुँदैन थियो मैदान ।

त्यो खेल कुनै अर्कै ग्रहबाट प्रत्यक्ष प्रसारण भइरहेको छ र मलाई त्यसको बारेमा थाहा छैन जस्तो भएको थियो ।

एकछिन हेरेपछि मैले सोधें, ‘ओहो ! कुन लिग हो यो ?’

साथीले भन्यो, ‘च्याम्पियन्स लिग ।’

मैले भनें, ‘च्याम्पियन्स के रे ?’

उसले भन्यो, ‘कस्तो केटो … च्याम्पियन्स लिग क्या, च्याम्पियन्स लिग फाइनल ।’

उसले के भनिरहेको छ मलाई केही थाहा थिएन । ब्राजिलमा च्याम्पियन्स लिग आउने टिभी च्यानलको छुट्टै पैसा लाग्थ्यो । हाम्रोमा त्यो च्यानल थिएन ।

०००

साँच्चै म मड्रिडको कुरा गर्दै थिएँ । त्यसपछि म मड्रिड जाने प्लेनमा थिएँ । त्यो बेला म १८ वर्ष पुगेको मात्र थिएँ । भगवान कसम त्यो बेला गइरहँदा पनि म कुराकानी गर्न मात्र होला भन्ने सोचिरहेको थिएँ ।

जब म क्लबमा भेट्न गएँ । त्यहाँ टेबलमा सम्झौता पत्र तयार नै थियो । सबै व्यवस्था मिलाइसकेको रहेछ । मलाई याद छ, मैले हतार हतार सम्झौता पत्रमा हस्ताक्षर गरेको थिएँ । त्यसपछि कोट लगाएका केही मान्छेले मलाई सिधै मैदानमा लिएर गए । अब मिडियाको सामु आएँ । मलाई केही थाहा थिएन । ब्राजिलमा मेरो परिवारले पछि भनेका थिए, उनीहरुले पनि पत्रिकामा समाचार नपढेसम्म त्यो कुरा विश्वास गरेका थिएनन् रे ।

रोबोर्टो कार्लोस मेरा आइडल थिए । मेरा लागि उनी भगवान जत्तिकै थिए । त्यो बेला रोबर्टोकै क्लबमा आउनु, उनको पोजिसनमा खेल्नु मेरा लागि सजिलै विश्वास हुने कुरै थिएन ।

पहिलो दिन लकर रुममा जाँदा त्यहाँ, रोबिन्हो, सिसिन्हो, जुलियो बाप्टिस्टा, इमरसन, रोनाल्डो, रोबोर्टो कार्लोस, क्यासिलास, राहुल, बेक्याम, क्यानाभारो थिए ।

जब मैले उनीहरुलाई देखें, तब लाग्यो .. ‘ओहो ! यिनीहरु सबजनालाई त मैले भिडियो गेममा मात्र चिनेको थिएँ ।’

उनीहरुले मलाई काँच्चै खाइदिन सक्थे । तर, तपाइँलाई म रियल मड्रिडको एउटा वास्तविकता भनिदिन्छु । यो यसकारण विशेष क्लब हो । पहिलो दिन नै रोबर्टो कार्लोस म भए ठाउँमा आए र भने, यो मेरो फोन नम्बर हो । जे सोध्नुपर्छ, जे चाहिन्छ मलाई फोन गर ।

मड्रिडमा मेरो पहिलो क्रिसमसको बेला, उनले मलाई आफ्नो घरमा बोलाएका थिए । म उनको पूरा परिवारसँग उनको घरमा थिएँ । उनी मेरा आइडल थिए । तर हामी रियल मड्रिडको एउटै पोजिसन लेफ्ट ब्याकमा खेल्ने खेलाडी थियौँ । यसैले प्लेइङ सेटमा पर्न प्रतिस्पर्धा गर्नुपर्ने हुन्थ्यो । उनले मेरो खेल बुझेका थिए । एकदिन मैले राम्रो गर्नेछु भन्ने उनलाई थाहा थियो ।

मैदानमा उनीबाट मैले धेरै प्रेरणा पाएको छु । उनी पनि लेफ्ट ब्याकबाट खुब दौडधुप गर्थे । विपक्षीको पोस्टमा बल आक्रमण गर्न पुगेका हुन्थे ।

तपाइँ मलाई मन पराउनुस् या मन नपराउनुस् । जब म मैदानमा हुन्छु नि मलाई बल पोस्टमा लगेर आक्रमण गर्नै मन लाग्छ । साच्चै भनेको, बल लगेर पोस्टतिर हान्ने मात्र कुरा होइन । पोस्टमा आक्रमण । …. आक्रमण ।

अनि पछि ब्याक साइडमा समस्या भएमा ? हामी त्यसलाई सुधार्छौं । तर पहिले हामी आक्रमण नै गर्छौं ।

तपाइँलाई ब्याकमा खेलेर त्यस्तो अवसर तब मिल्छ, जब साथीहरु अभिभावक हुन्छन् । फाबियो क्यानाभारो मेरो नजिकै खेल्थे । उनी मलाई भन्थे, ‘मार्सेलो अगाडि जाउ हानेर आउ । यहाँ म छु । ढुक्कले जुत्ता सोझ्याएर आउ । क्यानाभारो छ नि यहाँ किन चिन्ता ।’

अहिले क्यासेमिरो मलाई यसै भन्छन् । ‘मार्सेलो अगाडि जाउ, अरु कुरा हामी पछि सोचौंला ।’ ओहो ! क्यासेमिरो । उनले मेरो जीवन बचाएका छन् । मलाई लाग्छ उनी मेरो साइडमा भइरहन्छन् भने म ४५ वर्षसम्म फुटबल खेलिरहन सक्छु ।

०००

रियल मड्रिडमा मेरो पहिलो सिजन सकिनै लागेको थियो । डाइरेक्टरले मलाई उनको अफिसमा बोलाएका थिए । म अझै बिन्दास युवक नै थिएँ । बेसबल खेल्नेले लाउने क्याप टोपी लाएर ढल्कँदै म उनको अफिसमा गएँ ।

उनले मलाई रियल मड्रिडले लोनमा बाहिर पठाउन लागेको बताए ।

केही पेपरमा हस्ताक्षर गर्न उनले बोलाएका रहेछन् ।

मैले सोधें, ‘यदि मैले यो पेपरमा हस्ताक्षर गरिनँ भने मैले छोड्नु पर्दैन ?’

उनले भनें, ‘अँ हुन त त्यही हो । तर, प्रशिक्षकले के भन्छन् त्यसमा भर पर्छ । मलाई लाग्छ तिमीलाई अलि अनुभव बटुल्ने खाँचो छ ।’

मैले मनमनै सोचें, ‘यत्तिकै हस्ताक्षर गर्दिन । यसमा हस्ताक्षर गराउन यिनीहरुले मलाई गुण्डा लगाएर पिटेर बलजफ्ती गर्नुपर्छ । मरे नि गर्दिनँ ।’

मैले भनें, ‘अनुभव त म बटुल्छु । त्यो मेरो जिम्मा भो । अहिले यसमा हस्ताक्षर गर्दिन ।’

मैले उनलाई धन्यवाद भनेर त्यहाँबाट निस्किएँ ।

त्योपछि ट्रान्सफर सिजन रोबर्टो कार्लोसले छाडे । मैले अलि धेरै खेल खेल्ने मौका पाएँ । त्यसपछि नै मार्सेलो नयाँ रुपमा देखियो ।

०००

जब म छुट्टीको बेला ब्राजिल आफ्नो घर फर्किएको हुन्छु । हजुरबाको त्यो काठको दराज पूरै भरिएको हुन्छ ।

जब म ६ वर्षको थिएँ, उहाँले मेरो जीवनका लागि पुण्य गर्न सुरु गर्नुभएको थियो । मैले जित्ने सबै मेडल र ट्रफिहरु मिलाएर राखिदिनुहुन्थ्यो । अनि जब मैले गोल गर्थे, उहाँ घरमा आएर एउटा डायरीमा टिपेर राख्नुहुन्थ्यो । स्कूलको टिमबाट खेल्दादेखिको गोल उहाँले लेखेर राख्नुभएको छ । पत्रिकामा मेरो बारेमा केही आयो भने त्यो पनि काटेर राख्नुहुन्थ्यो । उहाँले त्यस्तो केही पनि छुटाउनुभएको छैन ।

हजुरबाको त्यो संग्रहमा मलाई एउटा कुरा थप्न मन छ । विश्वकप जितेर फर्किरहेको एउटा फोटो । जहाँ ब्राजिलको ठूलो झण्डा हल्लिरहेको होस् र म प्लेनमा बाहिरैबाट देखिने गरी बसिरहेको हुँ । रोमारियोले जस्तै ।

०००

जब हामी २०१४ को च्याम्पियन्स लिग फाइनलमा एथ्लेटिको मड्रिडविरुद्ध खेलिरहेका थियौँ । म बेञ्चमा थिएँ । त्यो समय मेरो हजुरबा बिरामी हुनुहुन्थ्यो । त्यसअघिको चार खेलमा लगातार सुरुवाती ११ मा थिएँ । तर, फाइनलमा बेञ्चमा बस्नु पर्दा मलाई अलिअलि रिस पनि उठिरहेको थियो । दुःख पनि लागिरहेको थियो ।

हामी १–० ले पछि परिरहेका थियौँ । म अझै मैदान प्रवेश गर्न पाउँछु कि भन्ने सोचिरहेको थिएँ । ९० मिनेट भयो । म अझै पर्खिरहेको थिएँ । अनि त्यसपछि, ९३ औँ मिनेटमा सर्जियो रामोसले गोल गरे र बचाए ।

जब प्रशिक्षकले मलाई अतिरिक्त समयमा मैदान प्रवेश गराउन चाहे, म रिसको झोंकमा कुदेर मैदान छिरेको थिएँ । अलि अर्कै खालको रिस । मलाई जित्न मन थियो ।

जब मैले अतिरिक्त समयमा गोल गरेँ । मलाई लाग्छ त्यो बेला मेरो दिमाग बन्द भएको थियो । मलाई आफ्नो जर्सी फुकालौँ जस्तै लागेको थियो । झसंग भएँ, हैट जर्सी त फुकाल्न हुँदैन, कार्ड पाइन्छ भन्ने याद आयो । अलि गम्भीर भएँ । त्यसपछि रुन पो थालेँ । त्यो कस्तो पागलपन थियो ।

पहिलो पटक टिभीमा च्याम्पियन्स लिग हेरेको १० वर्ष बितेको थियो । मैले च्याम्पियन्स लिग थाहा नपाएर के खेल हो यो भनेर सोधेको थिएँ । अहिले म त्यही उपाधि उचालिरहेको थिएँ ।

हामीले उपाधि जितेको केही हप्तापछि मेरो हजुरबाको निधन भयो । मैले च्याम्पियन्स लिगको उपाधि उचालेको उहाँले हेर्न पाउनुभयो । त्यसमा मलाई खुशी लागेको छ । किनभने म अहिले जे छु त्यो उहाँको देन हो ।

०००

कहिलेकाहीँ म यसो बिहान उठेर सम्झिरहेको हुन्छु, ११ वर्ष रियल मड्रिडमा । ११ वर्ष ब्राजिलका लागि फुटबल । लेफ्ट ब्याकबाट आक्रमणमा जाने म जस्तो पागल फुटबलर । अझै कसरी म यहाँ छु ?

यो सबै सामान्य लाग्छ भनेर मैले भनें भने यो मैले झुट बोलेको हो । अझै पनि रियल मड्रिडको जर्सी लाउनुअघि म भित्रबाट छुट्टै भावुक हुन्छु । मैले बाहिर नदेखाए पनि भित्रबाट मैले त्यो अनुभव गरेको हुन्छु । रियल मड्रिडको सदस्य हुन पाउनु मेरा लागि अमूल्य छ ।

अनि, अब मेरो एउटा अन्तिम मिसन छ ।

सन् २०१८ को विश्वकपमा ब्राजिल आफ्नो खेलमा फर्कने छ । लेखेर राख्नुस्, त्यसमा छाप हान्नुस्, यो पटक हामी जित्ने छौँ ।

टिटे जस्तो प्रशिक्षकको अनुभवमा खेलेर हामी यो पटक राम्रो गर्नेछौँ । उनी जब प्रशिक्षकका रुपमा आएका थिए … मलाई बोलाएर भनेका थिए, ‘तिमीलाई म राष्ट्रिय टिमको लागि बोलाउँछु कि बोलाउँदिन भन्ने त थाहा छैन । तर, बोलाएँ भने तिमी अझै राष्ट्रिय टिममा खेल्न इच्छुक छौ ?’

मैले भनें, सर .. तपाइँले मलाई बोलाउनु भयो भने त्यो मेरा लागि एकदमै भावनात्मक कुरो हुने छ । म जब १७ वर्षको थिएँ, त्योबेला देखि राष्ट्रिय टिमबाट खेलिरहेको छु । बिचको सिटमा बसेर २० घण्टाको फ्लाइटमा जान्थें । अहिले म राम्रो सिटमा बसेर गइरहेको हुन्छु । तपाइँलाई लाग्छ अब म जाँदिन होला ? जहिले आवश्यकता पर्छ म उपलब्ध हुनेछु ।’

प्रशिक्षकले बोलाए त्यो एकदमै ठूलो कुरा हो । पहिलोपटक राष्ट्रिय टिमका प्रशिक्षकले नै मलाई बोलाए । अनि म गएको ११ वर्षदेखि राष्ट्रिय टिममा छु । टिटेका लागि सक्दो गर्नेछु ।

मेरो हजुरबाको त्यो काठको दराजमा अझै राम्रो उपाधि राख्नका लागि म जे पर्छ गर्न तयार छु ।

अनि यदि सकिन भने पनि, म के भन्छु थाहा छ ?

म अझै मार्सेलो नै हुँ । हजुरबाकै पारामा भन्दा, ‘मु… म उस्तै खुशी छु ।’

प्रतिकृया दिनुहोस

Top