You are here
Home > जीवनशैली > डा. भगवान कोइरालासँगको कुराकानीः के हो ‘कार्डिएक अरेस्ट’ ? जसको कारण श्रीदेवी निधन भयो

डा. भगवान कोइरालासँगको कुराकानीः के हो ‘कार्डिएक अरेस्ट’ ? जसको कारण श्रीदेवी निधन भयो

बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको कार्डिएक अरेस्टका कारण दुबईमा निधन भएको बताइएको छ । नेपालमा पनि हालैका वर्षमा कार्डिएक अरेस्टको समस्या देखिने गरेको चिकित्सकहरू बताउँछन् । यसै सन्दर्भमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालासँग बीबीसीले गरेको कुराकानी हामीले प्रस्तुत गरेका छाैं ।

कार्डिएक अरेस्ट भनेको के हो ?
कार्डिएक अरेस्ट भनेको मुटु बन्द हुनु हो । सामान्यतया मुटुको कारणले अचानक हुने मृत्युलाई बुझिन्छ ।

यसका कारण चाहिँ के के हुन् ?
मुटु बन्द हुने अनेक कारण हुन्छन् । अन्य विभिन्न रोगको कारणले पर्ने असर एउटा सामान्य कुरा भइहाल्यो । मुटुको चालको गडबडी, मुटुको विद्युतीय प्रणालीमा गडबडी हुने कारणले पनि हुन सक्छ । मुटुको रक्तसञ्चार अचानक बन्द भएर, हृदयाघात भएर पनि हुन सक्छ । कहिलेकाहीँ हामीले भन्नै नसक्ने कारणले मुटु बन्द हुने पनि हुन सक्छ । यो धेरै हुँदैन तर सम्भव छ ।

यसबाट प्रभावित हुने निश्चित उमेर समूहका हुन्छन् अथवा जो कोही पनि हुन सक्छन् ?
अंग्रेजीमा रिक्स फ्याक्टर्स भनिन्छ । हृदयाघात हुने जोखिम भएकाहरूलाई पनि यसको जोखिम हुन्छ । किनभने जसलाई हृदयाघात हुन्छ उनीहरूको अचानक मृत्यु हुने सम्भावना बढी हुन्छ । त्यसैले त्यो जोखिमबारे हामीले जान्न, बुझ्न जरूरी छ । तर कहिलेकाहीँ दुर्भाग्यवश संसारभरको नियति के हो भने कारण विना पनि मुटु अचानक बन्द हुन सक्छ। यसबारे धेरै पीर गरेर साध्य हुने कुरा होइन । जोखिमका कुरालाई न्यूनीकण गर्नु चाहिँ हाम्रो हातमा छ ।

उसो भए कसरी जोखिम न्यूनीकण गर्न सकिन्छ ?
वयस्क उमेरका मान्छेले आफूलाई केही जोखिम छ कि छैन भनेर आफूले आफैँलाई मूल्याङ्कन गर्नुपर्‍यो र शंका लागेको खण्डमा चिकित्सकसँग सल्लाह लिनुपर्‍यो । न्यूनतम परीक्षणहरू पनि गराउनुपर्‍यो । खतरा केही देखिएन, स्वस्थ हो, कुनै खराब लत छैन । धुमपान गर्दैन, नियमित व्यायाम गर्छ, मोटोपन छैन भने धेरै पीर गर्नुपर्दैन । तर पनि ४० वर्ष काटेका व्यक्तिले एकचोटि परीक्षण गराउनु उपयुक्त हुन्छ । तर ती परीक्षणले अप्रत्याशित मृत्युलाई नियन्त्रण गर्छ भनेर बुझ्नु चाहिँ गलत हुन्छ । तैपनि जोखिमहरू घटाउन सकियो भने अप्रत्याशित हुने घटनालाई केही न केही न्यूनीकरण गर्न सकिन्छ ।

बलिउड अभिनेत्री श्रीदेवीको कार्डिएक एरेस्टकै कारण निधन भयो भनिएको छ, नेपालमा यस्ता अप्रत्याशित मृत्युका घटना कतिको हुने गरेका छन् ?
बेला-बेलामा हुने गरेका छन् । धेरैजनाको नाम हामीले सुनेको, चिनेजानेकै छौँ । हामीले कतिपयको उपचार पनि गर्‍यौँ । कतिपयलाई बचाउन पनि सकियो । हृदयाघात भएर मुटु बन्द भएकालाई कृत्रिम श्वासप्रश्वासबाट बचाएको उदाहरणहरू पनि छन् । अरू घटनाको तुलनामा यस्को संख्या चाहिँ कम छ । समाज यति आतंकित हुनुपर्ने कुरा चाहिँ होइन् । किनभने प्रतिशतको हिसाबले एकदमै कम छ । मुटुबाट हृदयाघात धेरैको हुन्छ, हामीले धेरैको उपचार गर्छौ । मुटुको चालको गडबडीको पनि धेरै उपचार गर्छौँ । ती सबै यस्तो अप्रत्याशित मृत्युमा परिणत हुँदैनन् । तर पनि मैले अघि भने जस्तै आफ्नो बारेमा सचेत हुने, जोखिमहरू न्यूनीकरण गर्ने र हृदयाघातको जोखिम निम्त्याउने धुम्रपान, अत्यधिक मदिरापान, कम कसरत गर्ने बानी, मधुमेह र रक्तचापको उपचार नगराउने प्रवृत्ति हामीले हटाउनैपर्छ ।

त्यसबाहेक उमेर सँग-सँगै केही जोखिमहरू आउन सक्छन् र अनुवांशिक कारणले आउने जोखिमलाई हामीले झेल्ने हो । केही परिहालेमा त्यसलाई तदारूकताका साथ उपचारको विधिमा लैजान सकिन्छ । तपाईँ हामीले चिनेका व्यक्तिहरूको मृत्युको पछाडिका कुलत जस्ता के-के जोखिम थिए भनेर हामीले अध्ययन गरेका हुँदैनौँ । खाली अचानक मृत्यु भयो भन्ने मात्र सुन्छौँ । त्यसैले जीवनशैली पो खराब थियो कि भनेर पनि जान्नुपर्छ । आफ्ना जोखिमहरू न्यूनीकरण गर्न आजैदेखि सचेत हुन म सबैलाई अनुरोध गर्न चाहन्छु । त्यसो गरे मात्रै हामी अप्रत्याशित मृत्युहरूलाई कम गर्न सक्छौँ ।

प्रतिकृया दिनुहोस

Top